कोशीकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा क्रान्तिकारीले जित्यो सभापति
इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरका अधिकांश क्याम्पसहरूमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । प्रदेशकै ठूलोमध्येको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अखिल क्रान्तिकारीका रोहित यादवले सभापति जितेका छन् ।
उनले एक हजार ११८ मत ल्याउँदा नेविसंघका प्रज्वलजंग विष्टले एक हजार ७५ मत ल्याए । यादव र विष्टको मतान्तर ४३ रह्यो । अनेरास्ववियुका अनिष बोगटीले २ सय ३२ मत मात्रै प्राप्त गरे । नेविसंघले सचिव र कोषाध्यक्षमा भने जित हासिल गरेको छ । सचिवमा नेविसंघका सुदीक्षा थापामगर ७ सय ४१ मतसहित विजयी भइन् उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाए ।
कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए । अबेर राती सम्पन्न मतगणनामा पासवानले ८ सय ९३ मत ल्याउँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजीव यादवले ८२७ मत पाए । विराटनगरको डिग्री क्याम्पसको सभापतिमा क्रान्तिकारीका प्रितम साह विजयी भएका छन् ।
यस्तै विराटनगरकै विराटनगर नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया निर्वाचित भएका छन् । मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन् । मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानल नै निर्वाचित भएको छ । सुकुना बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले जितेको छ । सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भए । ओझाले नेविसंघका विजयी ओझालाई हराउँदै निर्वाचित भएका हुन् । एलिसले ९८५ मत पाउँदा विजयले ६८६ मत मात्रै पाए ।
केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन् । यसै गरी, मोरङको पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन् । मोरङका ३ आङ्गिक र ८ सामुदायिक क्याम्पसमा मङ्गलवार निर्वाचन भएको थियो । नेविसंघबाट लेटाङ बहुमुखी क्याम्पसको सभापतिमा लेखनाथ दाहाल निर्वाचित भएका छन् । नेविसंघबाटै उर्लाबारी बहुमुखी क्याम्पसमा पोषण आचार्य र पथरी बहुमुखी क्याम्पसमा केशर राई सभापतिमा सर्वसम्मत भइसकेका छन् ।






