सर्वोच्चमा विचाराधीन रिट टुंगो लागेपछि मात्र रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधनमा सुनुवाइ: जिल्ला अदालत रुपन्देही
माघ १५ गते,बुटवल ।
जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनको अन्तिम निर्णय नहुन्जेल रवि लामिछानेविरुद्ध पेस भएको आरोपपत्र संशोधनको निवेदनमा सुनुवाइ नगर्ने आदेश दिएको छ।
आरोपपत्र संशोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको भन्दै अदालतले उक्त रिटको निर्णय टुंगो लागेपछि मात्रै सरकारी वकिलहरुले पेश गरेको निवेदनमा सुनुवाइ हुने जानकारी दिएको हो।
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने सरकारी पक्षको निवेदनबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेको छ।
अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले भने, “महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीलाई यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता पाउन भनी जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेश गरेको थियो। तर सर्वोच्च अदालतमा उक्त विषयमा उत्प्रेषण रिट विचाराधीन भएकाले, त्यसको अन्तरिम आदेशको टुंगो लागेपछि मात्र जिल्ला अदालतले निर्णय गर्नेछ। यस अर्थमा मुद्दा फिर्ता हुन अस्वीकृत भएको होइन।”
पौडेलले थपे, “माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्चमा विचाराधीन रिटको अन्तिम निर्णय नहुँदासम्म मुद्दा पेश नगर्न आदेश दिएको थियो। त्यसैले पछिल्लो समयमा आएको समाचार सत्य होइन, मुद्दा फिर्ता हुने वा नहुने निर्णय सर्वोच्च अदालतको रिटको टुंगोपछि मात्रै निश्चित हुनेछ।”






