चितवनमा प्राधिकरण प्रमुख कुटपिट घटना: डीएसपीको कमान्डमा ३ सदस्यीय छानबिन समिति
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द लेखिएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विकास खनाल र राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत अजय शर्मा सदस्य रहेका छन्।
छानबिन समितिले डिजिटल बोर्डमा देखिएको आपत्तिजनक सन्देश र कार्यालय तोडफोड गर्ने समूहको पहिचान तथा अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठ चितवन फर्किएपछि छानबिन प्रक्रियालाई थप गति दिन सकिनेछ।
प्रमुख श्रेष्ठ घटना भएका दिन नै उपचारका लागि काठमाडौँ गएका थिए। उनले कार्यालय तोडफोड गर्ने समूहबाट आफूलाई असुरक्षित महसुस गरेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार श्रेष्ठलाई दिइएको २४ घण्टे स्पष्टीकरणको लिखित जवाफमा उनले डिजिटल बोर्ड ह्याक भएको र दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालको संयोजकत्वमा बनेको छानबिन टोलीले कार्यालयका सीसीटीभी फुटेज जाँच गर्ने, डिजिटल बोर्डमा सार्वजनिक भएका सन्देशहरूको स्रोत पत्ता लगाउने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्य सुरु गरेको छ। प्रहरी प्रवक्ता डीएसपी घिमिरेका अनुसार कार्यालय तोडफोड तथा डिजिटल बोर्ड ह्याक गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिनेछ।
गत सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म डिजिटल बोर्डमा विवादित सन्देश देखिएको थियो। कार्यालयमा उपस्थित सेवाग्राहीले हो-हल्ला गरेपछि सन्देश हटाइएको थियो। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, चितवनले यस घटनामा संलग्नहरूको कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ।
यसैबीच, मंगलबार बिहान युवा संघका नेताहरू कार्यालय प्रमुख श्रेष्ठलाई भेट्न पुगेका थिए। तर उनले विज्ञप्ति लिन अस्वीकार गरेपछि तनाव सिर्जना भएको बताइएको छ। प्रमुख श्रेष्ठ हालसम्म चितवन नफर्किएको र घटनालाई अतिरञ्जित बनाउन कार्यालयकै केही कर्मचारी संलग्न रहेको उनले दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीविरुद्धको नारा डिजिटल बोर्डमा देखिएको विषयमा गम्भीर अनुसन्धानको माग गर्दै प्राधिकरणका कर्मचारीहरूले संयुक्त हस्ताक्षर संकलन गरी विज्ञप्ति निकालेका छन्। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आवश्यक परेमा फरेन्सिक ल्याबको सहयोग लिएर छानबिन अघि बढाइनेछ।






