बालेनले पूर्वराजालाई लाखौं जरिवाना तोकेपछि ‘रिसाए’ कमल थापा
इटहरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादीको आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौँ महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई गरेको जरिवाना हाँस्यास्पद रहेको बताएका छन् ।
थापाले शनिबार सामाजिक सञ्जालमा लेख्दै महानगरको यो निर्णय गलत ठेगानामा पठाइएको पत्र जस्तो ‘स्टण्ट’ भएको टिप्पणी गरेका छन् । उनले तीनकुने घटनामा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोप्रति आपत्ति समेत व्यक्त गरेका छन् । महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ । महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भनेको छ ।
अध्यक्ष थापाले मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो भन्दै उक्त पत्र फिर्ता लिनुपर्ने बताए । उनले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हाँस्यास्पद छ । गलत ठेगानामा पठाइएको पत्र जस्तो स्टण्ट भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।’
थापाले अगाडि लेखेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ । पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’





