कोशी पर्यटन वर्षको नारासहित मस्कट र लोगो सार्वजनिक
इटहरी ।आगामी वर्ष सुरु हुने कोशी पर्यटन वर्ष २०८२ को लागि नारा, लोगो र मस्कट सार्वजनिक भएको छ। पर्यटन वन तथा वातावरण मन्त्रालयले कार्यक्रम आयोजना गरि पर्यटन वर्षका प्रमुख ब्रान्डहरु सार्वजनिक गरेको हो ।
पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले विभिन्न ६ वटा प्रस्तावहरुबाट उत्कृष्ट लोगो र मस्कट चयन गरिएको जानकारी दिनुभयो । कोशी प्रदेशको प्रमुख धार्मिक गन्तव्यहरू र पर्यटन, पैदलमार्गहरुलाई विशेष जोड दिएर पर्यटन प्रवद्र्धन गर्न अघि बढेको बताउनुभयो ।
मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार मस्कटमा रेड पाण्डा हाब्रेलाई राखिएको छ। लोगोमा भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरु प्रयोग गरी लोगो निर्माण गरिएको छ। ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ।






