आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघले भन्यो–औचित्य छैन, ऐन जारी गरियोस्



18:43 बिहीबार २० , चैत्र २०८१

इटहरी । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्य नभएको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । तर, महासंघले भने वार्ताको औचित्य नभएको भन्दै ऐन जारी गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले भने, ‘पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ । फेरि वार्ता र सहमति आवश्यक छैन । ऐन जारी गर्ने भए मात्र मन्त्रालय जान्छौं । सहमति र छलफलको आवश्यक छैन ।’ शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । माइतीघर मण्डलबबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका छन् । उनीहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै आफ्ना मागका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ । सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् । ‘शिक्षक समुदायसँग विगतझै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्–‘विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ ।’

शिक्षकहरु भने आज बाँसुरी बजाएर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ । तर, ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको छ । शिक्षकहरुले ऐन जारी गर्न माग गरे पनि भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले सम्भव छैन । शिक्षकहरुले भने अध्यादेशबाट भए पनि आफ्ना माग सम्बोधन गर्नु पर्ने बताएका छन् । यसबारे संसदीय समितिले भने असहमति जनाएको छ ।

Featured News

Advertisement