शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

राप्रपाको जनप्रदर्शन : बल्खुमा सुरक्षा व्यवस्था कडा



12:58 मंगलवार २५ , चैत्र २०८१

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको जनप्रदर्शनका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको छ। राप्रपाले व्यवस्था उल्टाउने भन्दै काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

केहीबेरमा राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ । विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरीका पाँच हजार र सशस्त्र प्रहरीका एक हजार पाँच सय सुरक्षाकर्मी रहने जनाइएको छ । सभामा सहभागी हुन कालीमाटी, सानेपा, कलंकीदेखि नाराजुलुससहित कार्यकर्ता सभास्थल बल्खु पुग्नेछन् । उक्त क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले अन्यत्र डाइभर्ट गरेको छ ।

सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठुला भवनआसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मंगलबारको सभा सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध तयार भएको बताए ।विभिन्न ठाउँबाट र्‍याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

राजसंस्था पुनस्र्थापना, संघीयता खारेजीलगायत एजेण्डासहित राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाले पार्टी वा राष्ट्रिय झण्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिल समेत गरेको छ। यसअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ। सयौंको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्।

राप्रपाले सभा आयोजना गर्न सुरुमा नारायणहिटी राजदरबार बाहिरका लागि अनुमति मागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थानमा अनुमति नदिएपछि भृकुटीमण्डपमा गर्ने तयारी भएको थियो । भृकुटीमण्डपमा पनि प्रशासनले अनुमति नदिएपछि बल्खुमा आयोजना गर्न लागेको हो । विरोध सभा शान्तिपूर्ण र भद्र रूपमा हुने राप्रपाको भनाइ छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै प्रकारका घुसपैठ रोक्ने र शान्तिपूर्ण प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।

Featured News

Advertisement