सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान प्रमुखको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश



20:22 बिहीबार २७ , चैत्र २०८१

इटहरी । उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णयलाई अदालतले रोक लगाई दिएको छ ।

कानूनविपरीत वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने माझीको निर्णयलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोकेको हो । एकपछि अर्को विवादमा फस्दै गएका माझीले कानूनविपरीत कार्यवाहकको जिम्मेवारी दिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले विहीबार उपाध्यक्ष थारुको रिटमाथि सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । माओवादीबाटै वडाध्यक्ष जितेका भगतलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपाध्यक्ष थारु उच्च अदालत पुगेकी थिइन् । उपाध्यक्ष गुणवतीदेवी थारु गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले ३ नम्बर वडाका अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । अध्यक्ष माझी माओवादीका नेताको चीन भ्रमण टोलीमा छन् ।

गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाटै देखिएकोले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अदालतले भनेको छ। अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले पाउने आफ्नो पूर्व आदेश अदालतले दोहोर्‍याएको हो । यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा समेत यस्तै प्रकरणमा अदालतले उपप्रमुखको अधिकार सुनिश्चित गरिसकेको छ ।

अदालतको आदेशमा भनिएको छ ‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदासम्म बहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च।नं। १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्बद्ध निर्णयहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरूलाई दिनू ।’

Featured News

Advertisement