“खुशीको गाउँ” : विस्थापन, प्रेम र मानवीय आशाको आत्ममन्थन
- रामप्रसाद खरेल
भूमिका
एउटा उपन्यास कसैलाई मन पर्न सक्छ, कसैलाई नपर्न पनि सक्छ । मनपर्ने वा नपर्ने कुरा व्यक्तिगत रुचि हो । तर जब समालोचनात्मक दृष्टिले समीक्षा गर्नुपर्छ, त्यतिबेला कृतिको मूल्याङ्कन केही सैद्धान्तिक आधारमा टेकेर गर्नुपर्छ ।
कथावस्तु, पात्र र चरित्र, भाषा र लेखनशैली, विषयवस्तु र सन्देश, तथा समग्र प्रभाव— यी नै आधार मानेर खुशीको गाउँ उपन्यासमाथि पाठकीय दृष्टिकोण प्रस्तुत गरिएको छ ।
लेखक परिचय
छन्द कविता र गजल लेखनमा परिचित नाम खगिन्द्रा खुसी समसामयिक नेपाली साहित्यकी सक्रिय र बहुआयामिक स्रष्टा हुन् । उनका सृजनाहरू भावनात्मक संवेदना र सामाजिक यथार्थसँग गहिरो रूपमा जोडिएका छन् ।
साहित्यलाई सामाजिक परिवर्तनको माध्यम ठान्ने उनी विभिन्न साहित्यिक कार्यक्रम, प्रस्तुति र मञ्चहरूमा सक्रिय रहिआएकी छिन । रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा पनि उनको पहिचान रहेको छ ।
प्रकाशनको हिसाबले उनी आख्यानकारका रूपमा स्थापित छिन् । उनको पहिलो कृति आमाको डायरी कथा सङ्ग्रह हो । खुशीको गाउँ उनको पहिलो उपन्यास हो, जसले उनको सिर्जनात्मक यात्रा नयाँ उचाइमा पुर्याएको छ ।
विषय प्रवेश
खुशीको गाउँ शीर्षकले जति कोमल र शान्त ध्वनि दिन्छ, उपन्यासभित्रको यात्रा त्यति नै सङ्घर्षमय छ । यो कृति भूराजनीतिक यथार्थ, विस्थापनको कारुणिक कथा र भौतिकताभित्र हराउँदै गएको मानवीय मूल्यको खोजी हो । यसलाई केवल एक प्रेमकथा वा सामाजिक कथा भनेर सीमित गर्न मिल्दैन; यो त राष्ट्रिय पहिचान गुमाएको राजेन्द्रहरुको पुस्ताको आत्ममन्थन हो ।
उपन्यासको मूल विषय भुटानी शरणार्थी शिविर र नेपाली गाउँबीचको सम्बन्ध हो । यसलाई प्रस्तुत गर्न लेखकले भुटानी शरणार्थी राजेन्द्र र नेपाली गाउँकी राधिकालाई प्रमुख पात्रका रूपमा सृजना गरेकी छिन् । यी दुईबीचको प्रेमकथाको धागो उन्दै–बुन्दै उपन्यास अगाडि बढ्छ । राधिकाको सामाजिक, आर्थिक र पारिवारिक संघर्षमार्फत नारी पात्रको आत्मबल र उद्यमशीलता पनि उजागर गरिएको पाइन्छ ।
खगिन्द्राकै भनाइमा, “शरणार्थी मात्र होइन, नेपाल मूलका भूटानी र नेपाली गाउँबीचको सम्बन्धकै कथा हो खुशीको गाउँ ।”
त्यसैले यो केवल दुई पात्रको प्रेमकथा होइन, दुई भूगोल, दुई पहिचान र दुई सामाजिक संरचनाबीचको संवेदनशील संवाद हो ।
सामाजिक मान्यता र राष्ट्रियताको सिमानाले प्रेममा पार्ने प्रभावको झिल्को पनि हो — खुशीको गाउँ ।
किताबको कभर कला, छपाई, पेपर र डिजाइनलाई समग्रमा राम्रो पार्ने प्रयास गरिएको पाइन्छ ।
कथावस्तु
उपन्यासको कथा मुख्यतया झापाको खुदुनावारी भुटानी शरणार्थी शिविर र नजिकको नेपाली गाउँमा केन्द्रित छ । राजेन्द्र (शरणार्थी) र राधिकाको (नेपाली) जीवनको सीमित संसारमा प्रेम, संघर्ष र आशाका धागा बुनिरहेका पात्र हुन् । उनीहरूको कथा व्यक्तिगत प्रेमकथामात्र होइन, विस्थापित जीवनका गहिरा भावनात्मक तहहरू उद्घाटन गर्ने माध्यम पनि हो । शिविरको कठिन जीवन, भविष्यको अनिश्चितता र पहिचानको अभावले पात्रहरूलाई निरन्तर हल्लाइरहेको छ । पाठकले उनीहरूको पीडा र आशाको महसुस पनि गर्न सक्छन् ।
राधिकाको उद्यमशीलता र सफल पुष्प व्यवसायीका रूपमा भएको उदयले कथालाई सकारात्मक मोड दिएको छ । राधिकाको सपना, सङ्घर्ष र सफलताको कथालाई फरक कोणबाट प्रस्तुत गरिएको छ ।
शिविर भित्र र वाहिरको अन्तरघुलनमा देखिएका सांस्कृतिक र सामाजिक अन्तरविरोधहरुको कारुणिक प्रस्फुटन पनि हो ।
उपन्यासमा उपकथाहरू कम छन्, तर प्रत्येक प्रसङ्गले मूल विषयलाई बलियो बनाएको छ । विस्थापन, सामाजिक द्वन्द्व, आर्थिक संघर्ष र पुनर्वास— यी सबैले उपन्यासलाई समाजशास्त्रीय दस्तावेजको रूप दिएका छन् ।
पात्र र चरित्र
राजेन्द्र र राधिका उपन्यासका केन्द्रबिन्दु हुन् । उनीहरूको प्रेम आत्मिक र विद्रोही दुवै छ— सामाजिक मान्यताविरुद्धको एक निडर प्रयास । धनमाया जस्ता सहायक पात्रहरूले नारीको आत्मसम्मान र सामुदायिक भूमिकालाई बलियो बनाएका छन् ।
राधिकाको चरित्र दृढ र साहसी देखिन्छ; तर प्रेमका प्रसङ्गमा उनको आत्मसमर्पणले कथामा भावनात्मक गहिराइ थपेको छ । राजेन्द्रको पात्र कतै विद्रोही त कतै पलायनवादी जस्तो लाग्छ, तर यही विरोधाभासले उसको मानवीयपन उजागर गर्छ ।
सामाजिक र व्यक्तिगत जीवनमा राधिकालाई मजबुत चरित्रको देखाइए पनि राजेन्द्रसँगको प्रेम सम्बन्धमा निरिह पात्रको रुपमा प्रस्तुत गरेको भान हुन्छ ।
खगिन्द्राले पात्रहरूको क्रमिक विकास सजीव ढङ्गले प्रस्तुत गरेकी छिन् । सुरुवातमा असहाय र अनिश्चित देखिने पात्रहरू अन्त्यतिर आत्मविश्वासी र सशक्त बन्दै जान्छन् — जीवनको रुपान्तरणको यात्रा जसरी ।
लेखनशैली र भाषा
खगिन्द्राको लेखनशैली सरल, सहज र भावनात्मक छ । कवि भएकी कारण उनको गद्यमा काव्यात्मक स्वाद भेटिन्छ । भाषामा अनावश्यक अलङ्कार छैन, तर भावनाको गहिराइ छ ।
वर्णनमा यथार्थ र संवेदनाको सुन्दर सन्तुलन पाइन्छ, जसले पाठकलाई कथाभित्र तान्छ । संवादहरू स्वाभाविक छन्, र परिवेशीय चित्रण (शरणार्थी शिविर, नेपाली गाउँ र सम्बन्धको द्वन्द्व) अत्यन्त जीवन्त बनेका छन् ।
समग्रमा, भाषा प्रवाहिलो र भावनात्मक रूपमा प्रभावशाली छ— न अलङ्कृत, न कोर्रा; ठीक त्यही सन्तुलन जसले कथा पढ्न सजिलो र स्पर्शीय बनाउँछ ।
आलोचनात्मक टिप्पणी
उपन्यासले विस्थापन र पहिचानको विषयलाई संवेदनशीलतापूर्वक समेटेको छ । तथापि, राजनीतिक पृष्ठभूमि र पुनर्वासपछिको जीवनको विस्तृत चित्रण आएको भए कथा अझ बृहत् हुन्थ्यो ।
धनमाया, राधिकाको विवाह गर्ने केटा र शिविरका अन्य पात्रहरूको उपकथा थोरै विस्तारमा आएको भए उपन्यास अझ सशक्त बन्न सक्थ्यो ।
भुटानी सांस्कृतिक पक्षहरू पनि केही ठाउँमा सीमित रूपमा मात्रै देखिन्छन्, त्यो आयाम विस्तार पाउँदा कथाको सांस्कृतिक गहिराइ थपिन्थ्यो ।
राजेन्द्रलाई भुटानतर्फको स्मरणमा लैजान सकेको भए देश छाड्ने बेलाको सकस र त्यहाँको राज्य आतङ्क पनि उपन्यासमा आउथ्यो ।
यद्यपि यी साना कमीहरूभन्दा पनि कृतिको मानवीय गहिराइ, सामाजिक सन्देश र भावनात्मक प्रभाव धेरै बलियो छन् ।
निष्कर्ष
खुशीको गाउँ मानवीय सङ्घर्ष, पहिचान र आशाको जीवन्त साहित्यिक दस्तावेज हो । उपन्यासले सन्देश दिन्छ— चुनौतीका बीच पनि प्रेम, सपना र पुनर्निर्माण सम्भव छ ।
राधिकाको सङ्घर्ष र सफल पुष्प व्यवसायीका रूपमा उनको सफलता नारी सशक्तिकरण र उद्यमशीलताको प्रेरणा बनेको छ ।
यो कृति पढ्दा पाठकले केवल कथा होइन, विस्थापित जीवनको पीडा, पहिचानको खोज र आशाको प्रकाश एकसाथ महसुस गर्छन ।
कृति विवरण
कृतिः खुशीको गाउँ
विधाः उपन्यास
लेखकः खगिन्द्रा खुसी
आवरणः राजन काफ्ले
प्रकाशकः विश्व भूटानी साहित्यिक सङ्गठन
संस्करणः पहिलो (असार २०८२)
मूल्यः रु. ६५०
पृष्ठः २९७






