आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

पार्टी हित विपरीत गतिविधि गर्नेलाई छुट दिइँदैनः अध्यक्ष ओली



18:46 मंगलवार ३ , चैत्र २०७७

२०७७ चैत ३ गते, काठमाण्डौं । 

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्वेच्छचारिता र अनुशासनहीनता सह्य नहुने बताउनुभएको छ । त्यस्तो क्रियाकलाप गर्नेलाई विधानअनुसार कारवाही हुने उहाँले प्रष्ट पार्नुभयो । पार्टीको केन्द्रीय कमिटी बैठक अघि बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । पार्टी विधि विधान र तरिकाअनुसार चल्छ, निहुँ खोज्नेसँग नझुक्ने उहाँले प्रष्ट पार्नुभयो । देशको हित, लोकतन्त्रप्रति समर्पित भएर अघि बढ्न उहाँले पार्टी पङ्तिलाई आव्हान गर्नुभयो ।

“बाटै बाटोबाट आदेश फर्मानहरु गर्ने काम भइरहेको छ, पार्टीबाट निष्काशित गर्ने काम भइरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वेच्छाचारिता देखिएको छ, छुट्टै भेला बैठक भइरहेका छन्, समानान्तर कमिटी बनिरहेका छन् ।” एउटै पार्टीभित्र बसेर अनुशासनहीनता, उच्छृङ्खल क्रियाकलापमा छुट नहुने भन्नुहुँदै उहाँले “त्यस्तो क्रियाकलाप सह्य हुँदैन, यो अचाक्ली भयो” भन्नुभयो । आफूले अनुशासित र एकताबद्ध पार्टी बनाउन खोजेको बताउनुभयो ।

संविधान कार्यान्वयन गर्न व्यवधान गर्ने गरिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेश कार्यसूची प्रस्तुत हुने भएपनि त्यसमा व्यवधान सिर्जना गरिएको बताउनुभयो । संसदबाट कानुन ल्याएर अगाडि बढ्दा लामो प्रक्रिया लाग्ने देखेर अत्यावश्यक अध्यादेश ल्याइएको थियो, एसिड आक्रमणका दोसीलाई कडा कारवाही गर्ने उद्देश्य सरकारको भए पनि त्यसलाई रोक्ने काम गरेर संविधानको अवमूल्यन गरिएको उहाँले बताउनुभयो ।

“संसद देश र जनताको हितका निम्ति काम गर्ने थलो बन्नुपर्छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “संसदलाई त्यसरी सहज ढङ्गले चल्न दिइएको छैन ।” सरकारको गतिविधिलाई असफल बनाउन संसदमा दलहरुको सेटिङ रचिएको टिप्पणी गर्नुभयो ।

“चैत ४ र ५ गते एउटा पक्षको भेला आव्हान भएको सुन्दैछु, तर त्यस्तो भेलामा सहभागी नहुन म सबैलाई सजग र सचेत गराउन चाहन्छु” उहाँले भन्नुभयो, “त्यस्तो गुटगत भेलामा सरिक नहुन म पार्टी पङ्तिलाई आव्हान गर्दछुँ ।” पार्टी बैठकमा आएर आलोचना, आत्मालोचना गर्न सच्चिएर काम गर्न पाइन्छ तर अनुशासनहीनता चल्दैन उहाँले भन्नुभयो । जगहँसाइ गर्ने, तमासा गर्ने काम बन्द गर्न उहाँले आग्रह गर्नुभयो ।

भेलामा सहभागी नहुन आफूले आव्हान गर्दागर्दै कोही सहभागी भएमा त्यसमाथि पार्टीको निगरानी हुने प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो गुटगत भेला नगर्न माधवकुमार नेपाल पक्षलाई आग्रह गर्नुभयो । अझै केही बिग्रिएको छैन, त्यस्ता गुटगत भेला गर्दै नहिंड्नुस, पार्टी बैठकमा आएर कुरा राख्नुस् उहाँले आग्रह गर्नुभयो ।

लामो समयदेखि केन्द्रीय कमिटीका सदस्यहरुबीच भेटघाट नभइरहेको अवस्थामा भेटघाट होस् भन्ने उद्देश्यले चियापान कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । चियापानमा उपस्थित नेताहरुलाई स्वागत गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले चैत ७ गते शनिबार केन्द्रीय कमिटीको १२ औं बैठक आव्हान गर्नुभएको छ ।

Featured News

Advertisement