लिभरपुलको अपराजित यात्रामा सिटीकाे पूर्णविराम
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लगाईदिएको छ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुललाई सिटीले २–१ ले हराएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो। यो जितसँगै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ।
ईतिहाद स्टेडियममा घरेलु टोलीलाई जिताउन सर्जियो अग्यूरो र लिरोय सानेले गोल गरे। लिभरपुलका रोबर्टो फिर्मिन्होले एक गोल फर्काए पनि हार टार्न सकेनन्।
घरेलु टोलीले खेलको ४०औं मिनेटमा अग्यूरोको गोलबाट अग्रता बनाएको थियो। अग्यूरोले बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गरेका थिए।
पहिलो हाफ १-० ले अगाडि रहेको सिटी दोस्रो हाफमा थप चम्कियो। तर खेलको ६४औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल गरेपछि लिभरपुल खेलमा फर्कियो।
त्यसको ८ मिनेट पछि सानेले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। त्यसपछि दुबै तर्फबाट गोलका केही राम्रा प्रयास भए पनि गोल हुन नसकेपछि सिटीले महत्वपूर्ण ३ अंक जोड्यो।
जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी ४ मा झारेको छ। लिभरपुलको २१ खेलबाट ५४ अंक हुँदा सिटीको समान खेलबाट ५० अंक पुगेको छ। यस्तै तेस्रो स्थानमा रहेको टोटनह्यामको ४८ अंक छ। ४४ अंकसहित चेल्सी चौथो र ४१ अंकसहित आर्सनल पाँचौ स्थानमा छन्।








