मासिँदै गरेको रामधुनी चोकलाई चित्रमा संगाल्दै
त्यहाँका धेरै स्थानीयको अनुहारमा घर भत्किने पीरभन्दा बाटो फराक हुने र मुआब्जाबाट नयाँ घर बनाउन पाइने निश्चिन्तता बढी देखिन्थ्यो।त्यसैमध्ये एक थिए, रामबहादुर घलाङ।
‘पछाडि बाँकी जग्गा छ नि। त्यहीँ नयाँ घर बनाउँछु,’ उनले भने।
बनेपालीले रामधोनी चोक बनाइरहँदा अरू कलाकार एवं काठमाडौंस्थित सिर्जना कलेज अफ फाइन आर्टसका विधार्थी गाउँका अन्य घर एवं खोलाका ल्यान्डस्केप बनाउँदै थिए।
रामधोनी चोकभन्दा करिब पाँच सय मिटर पर ‘वाटर कलर सोसाइटी’ का अध्यक्ष एनबी गुरुङ र उपाध्यक्ष डिलीराम पालपाली भेटिए। उनीहरूले खेतबीचमा रहेको तीन घरलाई चित्रमा उतार्न थाले। परम्परागत दुई र एउटा निर्माणाधीन आधुनिक घर।
‘परिवर्तनलाई चाहेर पनि रोक्न सकिन्न, त्यो भएरै छाड्छ,’ आधुनिक घरलाई संकेत गर्दै उनीहरूले भने, ‘केही पछि कंक्रिटका घर बढी र परम्परागत घर कम देखिन थाल्नेछन्। हामी कलाकारलाई भने परम्परागत घर नै धेरै बनोस् भन्ने हुन्छ।’
सिर्जना कलेजका सोनाम छोम्फेललाई हर्नामाडीको वातावरण काठमाडौंको भन्दा सुन्दर लागेछ। त्यहाँका घर देख्दा उनले आफ्नो जन्मथलो डोल्पा सम्झिए, जहाँ ढुंगा र माटोका घर बढी भेटिन्छन्। डोल्पामा ५ कक्षासम्म मात्रै पढाइ हुने भएकाले काठमाडौं झर्नुपरेको उनले बताए।
‘डोल्पाका प्रायः घर दुईतले हुन्छन्, चारपाटे,’ उनले भने, ‘छानामा हिँड्दा तलसम्म सुनिन्थ्यो। कहिले त भत्किन्छ कि जस्तो पो लाग्थ्यो।’
परम्परागत घर देख्दा राम्रो भए पनि सिमेन्ट र इँटाले बनेको घर बलियो लाग्ने उनले बताए।
केही पर अन्य विधार्थी स्थानीय लक्ष्मी मालबुलेको घर बनाउँदै थिए। आफ्नै आगँनअघि आफ्नै घर चित्रमा देख्दा उनी दंग थिइन्। भनिन्, ‘यो घरलाई श्रीमानले करिब २० वर्षअघि बनाउनुभएको। भुइँचालोमा एउटा गारो भत्कियो। मर्मत गरेर बसेका छौं। पछि पैसा भयो भने भत्काएर ब्लकको घर बनाउने मन छ।’
लक्ष्मीको घर तल बरेली खोला रहेछ। त्यहाँ अन्य केही विधार्थी चित्र बनाइरहेका थिए।






