शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

विवाहस्थलमै गएर प्रहरीले बाल विवाह रोकेपछि…



08:09 शुक्रबार २० , पुष २०७५

कक्षा ७ मा पढ्दै गरेकी १३ वर्षीया बालिकालाई बराहताल–९ थारीगाउँका दीपक मस्र्याङ्गीले पुस १ गते भगाएछन्। उक्त कुरा थाहा पाएपछि गाउँको आमा समूह र महिला सञ्जालले बाल विवाह भन्दै रोक्न धेरै प्रयास गरे। उनीहरूको प्रयासकाबीच पनि दुवै पक्षले विवाहको तयारी गरे। विशेषगरी केटा पक्षका आफन्तले आमा समूहको कुरा मानेनन्। अन्तमा आमा समूहले नै विवाह रोक्न आग्रहसहित प्रहरीलाई नै खबर गरे।

विवाहको कर्म हुँदै गरेको दिन पुस १८ दिउँसो प्रहरी विवाहस्थल पुग्यो। त्यसपछि १३ वर्षकी दुलही र १६ वर्षका दुलाहालाई परिवारले लुकाए। विवाद र छलफलपछि आफन्तहरू विवाह हुन लागेको जोडीलाई छलफलमा ल्याउन राजी भए। अन्ततः विवाह रोकियो।

‘विवाह रोक्न हामीले धेरै प्रयास गर्‍यौं,’ स्थानीय अगुवा रमिता शाहले भनिन्, ‘अन्तिममा हाम्रो केही नलागेपछि प्रहरीलाई नै खबर गरेका हौं।’

दिउँसो साढे तीन बजे पुगेको प्रहरीलाई विवाह रोक्नका लागि थप चार घण्टा समय लागेको थियो। प्रहरीले विवाह हुन लागेका बालबालिकाका साथै स्थानीय जनप्रतिनिधि, आमा समूह, महिला सञ्जालका प्रतिनिधि र आफन्तलाई राखेर छलफल चलायो।

‘कलिलो उमेरमै बाल विवाह गर्दा हुने बेफाइदा, कानुनी कारबाहीलगायतका विषयमा लामो छलफल भयो’ विवाहस्थल पुग्ने टोलीको नेतृत्व गरेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले भने, ‘अन्तमा दुवै पक्षका आफन्तहरू बालिका र बालकलाई आ–आफ्नो जिम्मा लगेर जान राजी हुनुभयो।’

बाल विवाह गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि गाउँमा जानीजानी बाल विवाह गर्ने धेरै रहेको स्थानीय आमा समूहका एक सदस्यले सुनाइन्।

बालिकाकी आमा रत्नकली सिंजालीले छोरीलाई यसअघि पनि आफू घर फर्काउन आए पनि जान नचाहेको बताइन्।

‘छोरी भर्खर सात कक्षामा पढ्छिन्, धेरै पढाउँला र ठूली मान्छे बनाउँला भन्ने सोचेको थिएँ’ उनले भनिन्, ‘भागेलगत्तै लिन आएकी थिएँ, तर जान मानिन।’

Featured News

Advertisement