बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

महाराष्ट्र रेल दुर्घटना : मृत्तक नेपालीको संख्या सात पुग्यो, को–को कहाँका विवरण सहित ?



16:24 शुक्रबार ११ , माघ २०८१

 इटहरी । भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । यही माघ ९ गते (जनवरी २२) साँझ भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा मृत्यु भएका नेपालीको संख्या ७ पुगेको हो । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको नाम सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार दुर्घटनामा ४३ वर्षीया कमला नवीन भण्डारी (कैलाली), ४० वर्षीय लछिराम पासी (कैलाली), ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा (मंगलसेन, अछाम), ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा (मंगलसेन, अछाम), ६० वर्षीय जोक्ला उर्फ कला कामी (कमलबजार, अछाम) र ३२ वर्षीय राधेश्याम राध (डँडुवा, बाँके) को मृत्यु भएको हो।

यस्तै दुर्घटनामा थप चार जना नेपाली घाइते समेत भएका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र एक जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवम् सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ । उक्त दुर्घटनामा सात नेपालीसहित १३ जनाको ज्यान गएको छ । १२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो । यस क्रममा उक्त रेल पाचोरा स्टेसन नजिकै महेजी र पार्धाडेबीच ट्रयाकमा रोकियो ।

यहीबीच रेलमा आगो लागेको हल्ला फैलियो । जसबाट आत्तिएर यात्रुहरू रेलको डिब्बाबाट धमाधम अर्काे लिकमा हाम फाल्न थाले । यसैबीच सोही लिक भएर बेंगलुरुबाट नयाँ दिल्लीका लागि १२६२७ नम्बरको कर्नाटक एक्सप्रेस रेल हुँइकिएर आउँदै थियो । जसमा हामफालेका यात्रुहरु किचिन पुगेका थिए ।

Featured News

Advertisement