शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सुप्रिम सहकारी ठगीः चौथोपटक अदालत जाँदै रवि , आजै आदेशको सम्भावना



10:14 आईतवार १३ , माघ २०८१

इटहरी । सुप्रिम सहकारी ठगी मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (आइतबार) चौथोपटक रुपन्देही जिल्ला अदालत उपस्थित हुँदै छन्। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि नसकिएकाले शनिबार एकदिनको बिदापछि पूर्वगृहमन्त्री लामिछाने आज पनि अदालत जाने भएका हुन्।

थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार (आज) बिहान १० बजे उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो।
लामिछाने अदालत उपस्थित भएपछि आज पनि उनीतर्फका बाँकी अधिवक्ताले बहस गर्ने छन्। यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए।

त्यसअघि सरकारी र जाहेरीवालातर्फका वकिलले बहस सकेका थिए। गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो। 

बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए। न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए। रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ।

रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरीवालाका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश दिनेछन्। 

Featured News

Advertisement