भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणबारे प्रधानमन्त्री : कूटनीतिक पहल गरिरहेका छौं
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालिएको विषयमा कूटनीतिक पहल गरिरहेको बताएका छन् । भारत ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको घटना सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा कूटनीतिक पहल गरिरहेको बताएका छन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यसअघि केआईआईटीमा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी थिइन् । केआईआईटीका रजिष्ट्रारका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको छ । उक्त संस्थानले विज्ञप्ति निकाली बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल मृत भेटिएको जानकारी गराएको छ। उनले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
लम्साल मृत भेटिएपछि उनी अध्ययनरत कलेजमा विद्यार्थीहरूले प्रदर्शन समेत गरेका छन् । कलेज प्रशासनले लम्साल बसेको कोठा सिल गरेको छ भने उनको शव शवगृहमा राखिएको छ । यसैबीच कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय खाली गर्न निर्देशन दिइएको छ । रजिस्ट्रारले विज्ञप्ति जारी गरेर नेपालबाट आउने सबै विद्यार्थीहरूका लागि विश्वविद्यालय बन्द गरिएको र उनीहरूलाई आजै (१७ फेब्रुअरी) देखि विश्वविद्यालय क्याम्पस खाली गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।






