शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

विपिनको रिहाइका लागि पहल गरिदिन इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह



18:05 सोमबार ५ , फाल्गुन २०८१

इटहरी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौंं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो।

सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी छन् । हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा. देउवाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गरेकी थिइन् ।

आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आश्वासन उनले दिएका थिए । सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

यसक्रममा मन्त्री डा. देउवाले हिजो मात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गरेकी थिइन् । यसका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छन्।

Featured News

Advertisement