शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

कांग्रेसको १५ औँ महाधिवेशन ०८४ को निर्वाचनअघि नभए पार्टी झन् नाजुक हुन्छ : शेखर कोइराला



14:40 बिहीबार ८ , फाल्गुन २०८१

सुर्खेत ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुनुपर्ने बताएका छन्।  शुक्रबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आम निर्वाचनअघि नगरे पार्टी झन नाजुक हुने बताएका हुन्।  २०८४ को चुनावपछि पार्टीको महाधिवशेन गरे पार्टी झन् कमजोर बन्ने हुँदा चुनावअघि नै महाधिवेशन हुनुपर्ने र आफूले पनि पार्टीमा त्यही कुरा राखिरहेको उनको भनाइ छ। उनले आफू सभापति पदको उम्मेदवार रहेको पनि सुनाए।  

उनले भने, 'पार्टी सभापतिको उम्मेदवार म हो भनेर मैले पहिले नै भनिसकेको छु।' पार्टीको महाधिवेशनको अवधि २०८२ मङ्सिरमा सकिने र संविधानले दिएअनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्छ भनेर आफूले भनिरहेको उनको भनाइ छ। यसैगरी नेता कोइरालाले संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउनेजस्ता सात बुँदा गरेर कांग्रेस र एमालेले सरकार गठन गरे पनि त्यो अनुसार काम हुन नसक्दा आफूले कांग्रेस सरकारमा सहभागी भए पनि आफूले खबरदारी गरिरहेको बताए। 

अहिले देशको अवस्था जटिल भएको भन्दै कांग्रेस र एमालेले पनि सुशासन कायम गर्न, आर्थिक कठिनाइलाई सुधार ल्याउन र संविधान संशोधन गर्ने जस्ता काम गर्न सकेनन् भने जनताले नपत्याउने उनको भनाइ छ।  अमेरिकाले नेपालललाई यूएसडमार्फत दिने रकम ठगी हो भनेर रोकेको बेला अब नेपाल सरकारले पनि आफूलाई सतर्क बनाएर काम गर्नुपर्ने उनको सुझाव छ। 

शिक्षा र स्वास्थ्यमा यूएसएडमार्फत आएको सहयोग राम्रो भए पनि अन्य क्षेत्रमा पनि आएकोले अब नेपाल सरकारले पनि यसमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ। यस्तै उनले सङ्घ सरकारले प्रदेश सरकारलाई अधिकार नदिँदा प्रदेश सरकारहरू सक्षम बन्न नसकेको पनि बताए। संविधानतः प्रदेशलाई दिनुपर्ने अधिकार सङ्घीय सरकारले दिनुपर्ने भन्दै उनले केन्द्रले अधिकार नदिँदा प्रदेश सरकार परनिर्भर बनेको उल्लेख गरे।  

Featured News

Advertisement