शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

बेलहिया नाका हुँदै नेपाल भित्रने पर्यटक बढे, सबभन्दा बढी श्रीलंकाली



17:28 सोमबार २३ , पुष २०७५

रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको देखिएको छ। अघिल्लो वर्ष सन् २०१७ मा भन्दा २०१८ मा यहाँ आउने पर्यटकको संख्या १० प्रतिशतले बढेको हो।

अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन् २०१८ मा एक लाख ६६ हजार २ सय ३५ पर्यटक स्थलमार्गबाट नेपाल आएका छन्। अघिल्लो वर्ष सन् २०१७ मा बेलहियाबाट एक लाख ५० हजार ८ सय ४१ तेस्रो मुलुकका पर्यटक नेपाल भ्रमणमा आएका थिए। यो तथ्यांकमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। बेलहिया नाकाबाट दैनिक हजारौं भारतीय नागरिक ओहोरदोहोर गर्ने हुँदा पनि भारतीय पर्यटकको तथ्यांक अध्यागमन कार्यालयमा राखिँदैन।

पछिल्ला वर्षहरूमा स्थलमार्गबाट नेपाल भित्रिने राहदानी बोकेका पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालय भैरहवाका निमित्त प्रमुख गिरीराज खनालले बताए। बेलहिया नाका हुँदै आउने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। कतिपय पर्यटक लुम्बिनी हुँदै पोखरा, चितवन, मनाङ, मुस्ताङ, काठमाडौं, पाल्पा लगायतका जिल्लामा पुग्ने गरेका छन्।

यस वर्ष सबैभन्दा बढी श्रीलंकाका पर्यटक आएका छन्। बेलहिया नाका हुँदै ५८ हजार ७ सय ६३ जना श्रीलंकनहरू नेपाल आएका छन् भने थाइल्याण्डका ३२ हजार ७ सय ९२, म्यानमारका ३० हजार ५९, भियतनामका ७ हजार २ सय ४१, दक्षिण कोरियाका ६ हजार ८ सय ६६, चीनका ५ हजार २५ जना बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन् ।

यस्तै अन्य देशका पर्यटक बढे पनि स्थलमार्गबाट आउने थाई पर्यटकको संख्यामा भने केही कमी आएको छ । अघिल्लो वर्ष ३३ हजार ६ सय ९३ जना आएकोमा यो वर्ष ३२ हजार ७ सय ९२ मात्रै आएका छन् ।

अमेरिकीहरू २ हजार ३ सय ७९ जना, कम्बोडियाका २१ सय ७५, नेदरल्याण्डका १६ सय ९४, बेलायतका १५ सय ४८, इन्डोनेसियाका १४ सय ४३, अष्ट्रेलियाका १३ सय ४७, जर्मनका १२ सय ६७, जापानका १२ सय ५४, मलेसियाका ११ सय ६०, फ्रान्सका ११ सय ३६ जना नेपाल भ्रमणमा आएको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख ।

स्थलनाकाबाट सबैभन्दा बढी २०१८ मार्चमा २८ हजार ८ सय ४८ पर्यटक आएका थिए । त्यस्तै नोभेम्बरमा २५ हजार ४२, फेब्रुअरीमा २१ हजार ३ सय ७२, अगस्टमा १८ हजार २ सय ३३, अक्टोबरमा १७ हजार १ सय ९३ थिए । अफ सिजनको रूपमा रहेको जुनमा १३ सय ८८ पर्यटक मात्र यो नाकाबाट नेपाल आएका थिए।

हरेक वर्ष लुम्बिनी आउने बाह्य तथा आन्तरिक पर्यटकहरूको संख्या बढे पनि यस क्षेत्रका पर्यटन व्यवसायीहरूले भने त्यसको लाभ लिन नसकेको गुनासो आउने गरेको छ।

Featured News

Advertisement