राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
इटहरी । राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक युवा संगठनले बुधबार विरोध प्रदर्शन गरेको छ । गणतन्त्रको विरोध राजसंस्थाको पक्षमा संगठनले राँके जुलुससहित साँझ सुकेधाराबाट चाबहिलसम्म प्रदर्शन गरेको हो । सो क्रममा राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरिएको थियो । यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दिएको अभिव्यक्तिको समेत सो विरोध गर्दै उनको पुत्ला समेत जलाइएको थियो ।
खतिवडाले केही दिनअघि ‘हामी राजालाई बम हान्ने पार्टीका कायकर्ता हौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएर खतिवडाले पूर्वराजालाई धम्क्याउने काम गरेको केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्य राजु लोहनीले आरोप लगाए । उनले पूर्वराजालाई जिस्क्याउने काम बन्द चेतावनी दिँदै नवीन समझदारीबाट राजालाई पनि ठाउँ खाली गरिनुपर्ने धारणा राखे ।
उनले चैतका लागि राप्रपाले आन्दोलनको बिगुल फुकिसकेको भन्दै अहिलेको व्यवस्था विफल भएकाले राजतन्त्रको विकल्प नभएको तर्क गरे । यस्तै युवक संगठनका सदस्य सचिव नीराजन बमले राजा फर्काउनुको विकल्प नभएको बताए । कार्यक्रममा लोहनी र बमसहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।





