जनसंगठनमा स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो
इटहरी । सत्तारुढ नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । आज (आइतबार) बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो । सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले भने, ‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं ।’
साथै कमिटीको संख्या घटाउने निर्णय गरेको पनि उनले बताएका छन् । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ ।
विदेश जानुअघि जानकारी दिनुपर्ने, आएपछि ‘रिपोर्ट’
नेकपा एमालेले नेता–कार्यकर्ताको विदेश भ्रमणबारे आचारसंहिता बनाएको छ । आइतबारको सचिवालय बैठकले आचारसंहिता बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने छ ।
कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो पर्याप्त जानकारी गराउनुपर्ने छ । गइसकेपछि पार्टी र देशको गरिमा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । आइसकेपछि आफ्नो भ्रमणबारे व्यवस्थित रिपोर्ट प्रस्तुत गर्नुपर्ने पोखरेलले जानकारी दिए ।






