शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

नेपाललाई साफको च्याम्पियन बनाउने नव नियुक्त प्रशिक्षक रोसको मुख्य लक्ष्य



18:17 सोमबार १९ , फाल्गुन २०८१

इटहरी । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । आज (सोमबार) एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए।

प्रशिक्षक रसले साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित काम गर्न लागेको बताए । नेपाली टोलीलाई एशियन कप क्वालिफायरमा राम्रो नतिजा निकाल्न मार्गदर्शन गर्ने योजना रहेको पनि उनले स्पष्ट पारे। नेपाली टोलीमा योग्य र क्षमतावान् खेलाडी रहेको उल्लेख गर्दै उनले विशेषगरी यु–२० टोलीका खेलाडीहरूको क्षमतालाई थप निखार्ने योजना रहेको बताएका छन् ।

करिब २० वर्षको प्रशिक्षण अनुभव बोकेको प्रशिक्षक रसले तल्लो तहदेखि खेलाडी विकास गर्नुपर्ने आवश्यकता औंल्याए । उनले अघिल्लो वर्ष आइसल्यान्डको फुटबल सुधारिएको उदाहरण दिँदै नेपालको फुटबलमा पनि ठूलो सम्भावना रहेको उल्लेख गरे। रसले केही खेलाडीलाई केपी ओली कप र झापा गोल्डकपमा हेरेको र तिनीसँग काम गर्न उत्साहित रहेको बताए ।

रसले नेपाली फुटबलप्रति रहेको उत्साह, जोश र समर्थन अविश्वसनीय रहेको बताए। उनले बलियो टोली निर्माण गर्दै नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । अष्ट्रेलियामा सेमि–प्रोफेसनल फुटबल खेलिरहेका नेपाली खेलाडीहरूको लागि राष्ट्रिय टोलीको ढोका खुला रहने स्पष्ट पार्दै सबैभन्दा योग्य खेलाडीहरूलाई अवसर दिने प्रतिवद्धता व्यक्त गरे ।

रसले नेपाली फुटबलमा दीर्घकालीन सुधार ल्याउने लक्ष्य रहेको बताए। उनले म्यानमारविरुद्धको नेपाली महिला टोलीको खेल हेरेको अनुभव साझा गर्दै नेपालमा फुटबलप्रति अपार क्रेज रहेको बताए । अन्त्यमा, उनले नेपाली खेलाडी, कोचिङ स्टाफ र समर्थकहरूसँग मिलेर सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

Featured News

Advertisement