राजतन्त्र पुनर्स्थापना र संघीयताविरुद्ध राप्रपा नेपालले पनि थाल्यो आन्दोलन
इटहरी । राप्रपा नेपालले राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन गर्ने भएको छ।अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
राप्रपाले पूर्वराजा ज्ञानेन्द्रबाट फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिइएको सन्देशलाई सकारात्मक रूपमा ग्रहण गर्न सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, आमसंचार माध्यम तथा आमजनतालाई आह्वान गरेको छ।
‘देशलाई संकटबाट मुक्त तुल्याउने क्रममा आफूलाई सहयोग गर्न राजाबाट भएको आह्वानलाई आत्मसात गर्दै समान विचारधारा भएका सबै राजावादी, हिन्दुवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूका बिच एकता कायम गरेर राजालाई साथ र सहयोग गर्न’ आह्वान गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, राप्रपा नेपालले समान विचारधारा भएका दल वा समूहसँग एकता र सहकार्यको निम्ति प्रयत्न गरिरहने स्पष्ट पार्दै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना तथा संघीयताको खारेजीको निम्ति कुनै पनि दल वा समूहबाट गरिने संघर्षका कार्यक्रममा नैतिक समर्थन रहने जनाएको छ।
सो दलले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कने भन्दै त्रिभुवन विमानस्थल गेट अगाडि उपस्थिति हुन पार्टीका नेता, कार्यकर्ता, समर्थकहरूसँग आग्रह गरेको छ।
यस्तै, आगामि चैत १ गते देशका सम्पूर्ण जिल्लाका सदरमुकाममा जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना र प्रदर्शन गर्ने, चैत ८ र ९ गते हेटौँडामा मध्यमाञ्चल क्षेत्रस्तरीय भेला र प्रशिक्षण गर्ने, चैत १४ देखि १८ सम्म काठमाडौँ उपत्यकाका १० वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखु देखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने निर्णय गरेको छ।
यसैगरी, चैत २२ गते राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरुको संयुक्त भेला गर्ने तथा चैत २६ गते काठमाडौँमा बृहत जनप्रदर्शन गरिने महामन्त्री बर्तौलाले जनाएका छन्।






