लोकतन्त्रमाथिको प्रहार सह्य हुँदैन : नेकपा एस
इटहरी । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेलविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ । आज (सोमबार) केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले राजावादीलगायत प्रतिगमनकारी र पुनरूत्थानवादीहरूले गणतन्त्रविरुद्ध चलखेल गरेको भन्दै यसका विरुद्ध एकताबद्ध हुन आह्वान गरेको हो ।
जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्धको गतिविधिको विरोध गर्दै गणतन्त्रशक्तिहरूलाई एकताबद्ध हुन अपील गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै आफ्ना काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नु पर्नेमा बैठकले जोड दिएको उनले बताए ।
त्यसैगरी बैठकले आगामी चैत १ गते बृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । ज्वालाले मशानघाटमा पुगेको राजसंस्था ब्यूँतिने कुनै सम्भावना नरहेको बताए । उनले परिवर्तनका विरुद्ध हुने चलखेल कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।
अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्ने बताए । अध्यक्ष नेपालले सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नरहेकामा जोड दिए ।






